काठमाडौं । नक्कली कागजात बनाएर विदेश पठाउने गरेको आरोपमा बहालवाला प्रहरीसहित ९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न मितिमा ९ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

विशेषगरी भिजिट भिषामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा १ हजार ३२ थान कागजात पठाएको थियो।

ती कागजात भेरिफाई गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने ९ जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख सोमेन्द्रसिंह राठौरले बताए।

विमानस्थल सुरक्षा कार्यालयले पठाएकामध्ये २९६ थान कागजात क्रस चेक गर्ने क्रममा नक्कली रहेको खुलेको हो। बाँकी कागजात भने क्रस चेक गर्न बाँकी नै रहेको एसएसपी राठौरले बताए।

नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृत, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेट मेन्ट, लगागतका कागजातहरु क्रस चेकको क्रममा भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा नवलपुर मध्यबिन्दु नगरपालिका–५ का ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका–८ कि ३४ वर्षीय भक्तबहादुर थापा, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २१ वर्षीय विपिन ढकाल, सुलिकोट–४ का २३ वर्षीय अजित फेवाली, उदयपुरको बेलका नगरपालिका–१ का ३० वर्षीय आशिष श्रेष्ठ, काभ्रेको पाँचखाल नगरपालिका–३ का २८ वर्षीय जीवराम तामाङ, काठमाडौं–३२ का २३ वर्षीय साइरस विशंखे, काठमाडौं–१ का ३८ वर्षीय दीपक केसी, सल्यानको कालिमाटी–३ का ४२ वर्षीय बलबहादुर रावत छन्।

पक्राउ परेकामध्ये जीवरामले विदेश जान चाहनेहरुसँग सम्पर्क गरी कुन–कुन कागजात चाहिने रहेछ भन्दै बुझ्ने गरेका थिए। त्यसपछि कागजात बनाउन लाग्ने रकमदेखि टिकट बुकिङ  र होटल बुकिङको काम गर्ने गरेको खुलेको छ।

दीपक केसीलेलाई भने भक्तबहादुर थापाले ह्वाट्स एपमा सम्पर्क गरी राहदानीको फोटो पठाई नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको खुलेको एसएसपी राठौरले बताए।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com