काठमाडौं । जाजरकोटमा भूकम्प जाँदा सल्यान वनगाडका जीतबहादुर विष्ट भारतको महाराष्ट्रस्थित नासिकमा थिए । जसै उनले भूकम्पमा आफ्ना छोराबुहारी परेको खबर पाए, तत्कालै आत्तिएर ढले । केही बेरमै उनको मृत्यु भयो ।

शुक्रबार मध्यरातको भूकम्पमा घर भत्किँदा विष्टका छोरा मोहन र बुहारी शोभा पुरिएका थिए । कुपिण्डे नगरपालिका– ४ का उनीहरू दुवै शिक्षक हुन् । जाजरकोटको नलगाडस्थित एउटा बोर्डिङ स्कुलमा पढाउँथे । ‘यता भतिज र बुहारी भूकम्पमा परेछन्,’ विष्टका भाइ दुर्गा बीसीले भने, ‘उता दाजुले आफूलाई सम्हाल्न सक्नुभएनछ । एकाएक बेहोस भनेर ढल्नुभएछ ।’
भूकम्पमा पुरिएका मोहन र शोभालाई स्थानीयले उद्धार गरेर निकालेका थिए । शोभाको सोही राति नै मृत्यु भयो । मोहनलाई भने एम्बुलेन्सबाट नेपालगञ्जको भेरी अञ्चल अस्पताल ल्याइयो । उनीहरूका ६ वर्षीय छोरा भने मामाघर गएकाले जोगिए ।

३२ वर्षीय मोहनको भेरी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । आमा हेमा नाति लिएर छोराको उपचार गराउन नेपालगञ्ज आएकी थिइन् । नेपालगञ्जमै उनले श्रीमान्‌को मृत्युको दुःखद खबर सुन्नुपर्‍यो । एकैसाथ श्रीमान् र बुहारी गुमाएकी उनले छोराको स्याहार गरेर अस्पताल बस्न पनि पाइनन् । उनी काजकिरिया गर्न घर फर्किएकी छिन् ।

हेमा आईसीयू बेडमा छटपटाइरहेका मोहनको स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन । उनीहरू डेरा बसेको घरको माथिल्लो तलामा बस्थे । भूकम्पले घर भत्किँदा मोहनलाई दलिनको काठले च्यापेको थियो । उनको टाउको, पेट र खुट्टामा गम्भीर चोट लागेको छ । कलेजोमा पनि समस्या देखिएको छ । ‘घाइतेको स्वास्थ्यमा राम्रो सुधार भएको छैन । काठमाडौं लैजाने तयारी गरेका छौँ,’ बीसीले भने ।

५७ वर्षीय जीतबहादुर धेरै वर्षदेखि रोजगारीका लागि भारतमा छन् । नासिकमा एउटा होटलमा उनी वेटरको काम गर्थे । घर नआएकै २ वर्ष भइसकेको थियो । ‘उच्च रक्तचापको समस्याबाहेक अर्को खासै रोग भएको थाहा छैन । भूकम्पमा छोराबुहारी परेको खबरपछि आफूलाई सम्हाल्न सक्नुभएन । हृदयाघात भएको खबर आयो,’ भाइ बीसीले भने ।

महाराष्ट्रबाट शव नेपाल ल्याउन पनि सहज भएन । तत्कालै शववाहनको व्यवस्थाका लागि खर्च जुटाउन पनि सम्भव नभएपछि छोरी सरिता र माइलो भाइ मोहन विष्ट नासिक पुगेरै अन्त्येष्टि गरेर फर्किएको उनले बताए ।

नेपालगञ्जको भेरी अस्पतालमा भूकम्पका ४७ जना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । तीमध्ये दुई जना निको भएर घर फर्किए भने एक जनाको मृत्यु भएको छ । भूकम्पका घाइतेको प्रभावकारी उपचारका लागि अस्पतालमा आवश्यक व्यवस्था गरिएको उनले जनाए ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com