सुर्खेत । कार्तिक ८ मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न दुई जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न सोही नगरपालिकाको–७, पिना घर भइ हाल बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरा छन् ।

प्रहरीले शाहीलाई कार्तिक २० गते सुर्खेत, वीरेन्द्रनगरको पञ्चकोशी टोलबाट पक्राउ गरेको थियो भने बोहोरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

गोपालबहादुर कै मुख्य योजनामा कार्तिक ८ गते साँझ गोपाल र गोर्खबहादुरले मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको हत्या गरे ।

मृतक श्रीदेवी छोराछोरीसहित कार्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् । सोही राति उनीहरुको हत्या गरिएको थियो।

यद्यपि प्रहरीले १० गते बिहानमात्रै घटनाबारे थाहा पायो । दुई दिनसम्म पनि यता–उता नगरेको र ताला नखोलिएको देखेपछि स्थानीयले घरमा लगाएको ताला तोडे । त्यसपछि भित्र चारै जनाको शव फेला परेको थियो ।

धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटियो । उनका श्रीमान दीपक बोहोरा भने कतारमा थिए । लगत्तै जिल्लाबाट प्रहरी प्रमुख वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

कार्तिक ११ मा प्रदेश प्रहरी कार्यालयको टोली मुगुमा खटियो । कतारमा रहेका दीपक पनि घटनापश्चात ११ गते घर फर्किए । तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दा एक हप्तासम्म पनि घटनाबारै कुनै ‘क्लु’ पत्ता लागेन । पछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई घटनास्थलमा खटाइएको थियो ।

विभिन्न कोणबाट अनुसन्धान गरेको प्रहरीले अन्ततः हत्यारामा संलग्नहरु पत्ता लगाएर कारबाहीको दायरामा ल्याएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com