काठमाडौँ । पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी छ । पसलमा सामान किन्दा , गाडीको भाडा दिँदा , बैंकमा ऋण तिर्दा वा कसैलाई सापट दिंदा नक्कली नोटको कारोबार बढेको देखिन्छ ।

अझ बजारमा मन्दीको प्रभाव देखिन थालेदेखि त नक्कली नोटको कारोबार झनै बढेको छ । हुन त नक्कली नोटको कारोबार संलग्नहरुलाई प्रहरीले दिनहुँजसो पक्राउ गरिनै रहेको छ । तर पनि बजारमा नक्कली नोटको कारोबार पूर्ण रुपमा निर्मूल भने हुन सकेको छैन ।

यहीबीच प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा नेपाली सेनाको ‘ मोची ‘ पदमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले पुरानो गोरख गण नारायणहिटीमा कार्यरत विरेन्द्र कुमार रामलाई पक्राउ गरेको हो । २०७४ जेठ २० गते नेपाली सेनाको मोची पदमा जागिर खाएका रामलाई प्रहरीले गत असोज २८ गते पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले २६ गते गौशालाबाट ठमेल जाँदैगर्दा पठाओलाई एक हजारको नोट दिएका थिए । तर , उक्त नोट नक्कली भएको थाहा पाएपछि पठाऔ राइडरले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेपछि रामले प्रहरीसँग उक्त नक्कली नोट आफूले साहुको ऋण तिर्नका लागि छापेको बयान दिएका छन् ।

‘मैले ठग्नकै लागि नक्कली नोट छापेको होइन । साहुको ऋण तिर्नका लागि हजारको नोट फोटोकपी गरेको हुँ । ‘ , रामको भनाइलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो , ‘ आफ्नो तलबले ऋण तिर्न पुगेन । आम्दानीको अरु बाटो थिएन । केही उपाय नलागेर मैले नोट छापेको हुँ ।’

हाल पक्राउ परेका रामविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com