काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको छ।

हङकङ क्रिकेट क्लबको मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।
नेपालका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। दोस्रो ‌ओभरमा पूजा महतोलाई ४ रनमा रनआउटको रुपमा गुमाएपछि नेपालको लगातार विकेट गएको थियो।
तेस्रो ओभरमा नेपालविरूद्ध हङकङकी इक्रा सहरले ह्याट्रिक गरेकी थिइन्। उनले २.३ ओभरमा सम्झना खड्कालाई १ रनमा आउट गरेपछिको दुई बलमा नेपालका काजल श्रेष्ठ र इन्दू बर्मालाई डकआउट गर्दै ह्याट्रिक गरिन्। उनले ह्याट्रिक गर्दा नेपालले २.५ ओभरमा ५ रन जोड्दा ४ विकेट गुमाएको थियो।

त्यसपछि विन्दू रावल र कन्चन श्रेष्ठ समान १-१ रनमा आउट भए। लगातार विकेट गएको बेलमा रूबिना क्षेत्रीले नेपालको इनिङलाई केही सम्हालिन्। उनले २५ रनको योगदान गरिन्।

रुचिताबाट बोल्ड हुनअघि उनले ३० बलमा ४ चौका प्रहार गरिन्।
त्यसपछि अस्मिना कर्माचार्य शून्य र संगिता राई २ रनमा आउट भए। रोमा थापा ७ रनमा नटआउट रहिन्।

बलिङमा हङकङकी इक्रा सहरले ३ विकेट लिँदा रुचिताले २ विकेट हात पारिन्।

हङकङ, तान्जानिया, जापान र नेपाल सम्मिलित महिला टी-२० सिरिजमा बुधबार तान्जानियासँगको पहिलो खेलमा नेपाल २७ रनले पराजित भएको थियो।

सिरिजको शीर्ष दुईमा अटाउन नेपालले आजको खेल जित्नुपर्ने दवाब छ।

नेपालले लिगको अन्तिम खेल जापानसँग मंसिर २ गते खेल्नेछ।
शीर्ष २ मा रहनेले उपाधिका लागि खेल्नेछ भने बाँकी २ टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

 

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com