काठमाडौं । नेपालकै छोटो उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गमा पर्ने तमोर नदीमाथिको पुल निर्माण सुरु भएको ६ वर्ष पुग्दा पनि निर्माण पूरा हुने टुंगो छैन । विराटनगरको रानी र ताप्लेजुङको टिप्ताला जोड्ने तमोर नदीमाथिको लिम्बुनी पुल ६ फागुन ०७४ मा २२ करोड पाँच लाख ७७ हजार आठ सय ९० रुपैयाँमा एम–एस सपना याक्थुङ जेभी काठमाडौंसँग निर्माण सम्झौता भएको थियो ।

सम्झौताअनुसार असार ०७७ सम्ममा सक्नुपर्ने भए पनि ६ वर्षमा एउटा पिल्लर मात्रै निर्माण भएको छ । एक सय दुई मिटर लम्बाइको पुल बनाउन ठेक्का लिने कम्पनीको लापरबाहीका कारण काम ढिला भएको स्थानीयको भनाइ छ । तमोर करिडोरको सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङगोला पुग्न अब तीन सय मिटर मात्र ट्र्याक खुल्न बाँकी छ । तर, लिम्बुनी पुल चाँडो नबन्ने हो भने यो सडकको कुनै महत्व नहुने स्थानीय बताउँछन् ।

पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने पुल निर्माणको ठेक्का लिएको कम्पनीले काम नगरेपछि स्थानीय जनप्रतिनिधि र प्रशासनले दबाब बढाउन थालेका छन् । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू दीपेनको नेतृत्वमा जनप्रतिनिधिको टोली र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले पुल निर्माणको प्रगति अवलोकन गरेका छन् । ‘प्रगति देखिएको छैन, लामो समयदेखि काम गरेको छैन,’ आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले भने । निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरेकाले अब विभिन्न क्षेत्रबाट दबाब बढाउनुपर्ने उनको भनाइ छ ।

यो पुल बन्न ढिलाइ हुुँदा धनकुटा, ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुमलगायतका जिल्लाहरूको समृद्धिमा असर पुग्ने अध्यक्ष पोमूले बताए । निर्माण कम्पनीलाई काममा फर्काउन पाँचथरको हिलिहाङ गाउँपालिकासहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनप्रतिनिधिलगायत संघीय तथा प्रदेश सांसदहरूले संयुक्त पहल सुरु गरेको पनि उनले जानकारी दिए ।

प्रजिअ पौडेलले पुल निर्माण हुने क्षेत्रको एकातर्फको भाग पाँचथरको आङ्बुहाङतर्फ माथिबाट पहिरोसमेत झर्न थालेपछि त्यसको व्यवस्थापन गर्न समस्या हुने बताए । वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यहीँ हो । पक्की पुल नहुँदा अहिले आङ्बुहाङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थाननजिक रहेको झोलुंगे पुलबाट मोटरसाइकलसमेत तार्नुपर्ने अवस्था रहेको छ । –नयाँपत्रीका

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com