काठमाडौं । इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सक्रियतामा उपलब्ध सबै कूटनीतिक तथा व्यक्तिगत च्यानलबाट बुझ्ने क्रममा आइतबार उनी सकुशल रहेको पुष्टि भएको हो । परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले विपिन सकुशल रूपमा गाजा क्षेत्रमा रहेको भरपर्दो सूचना प्राप्त भएको बताए ।

‘परराष्ट्रमन्त्रीज्यू र कूटनीतिक संयन्त्रको निरन्तर प्रयासपछि विपिन जोशी गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । उनी सुरक्षित र सकुशल छन् । उनलाई फिर्ता गर्ने प्रयास पनि सुरु भएको छ,’ परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव जोशीले आइतबार राति नयाँ पत्रिकासँग भने, ‘विपिनसँग सम्पर्क भएको छैन । तर, उनी गाजामा रहेको विश्वसनीय र भरपर्दो सूचना प्राप्त भएको हुनाले अब उनलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयासमा परराष्ट्रमन्त्रीको सम्पूर्ण प्रयास केन्द्रित भएको छ ।’

नेपाली राजदूतावास र नेपालस्थित इजरायलको राजदूतावासबाट प्राप्त सूचनाका आधारमा जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि भएको हो । ‘हामीलाई प्राप्त भरपर्दो सूचनाअनुसार जोशीलगायत त्यहाँ रहेका थाई नागरिक एकदमै सकुशल छन् । सहज र सकुशल अवस्थामा उनीहरूलाई राखिएको भन्ने भरपर्दो जानकारी आएको छ,’ जोशीले भने ।

विद्यार्थीको भनाइ थियो । हमासको गोली लागेर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका थिए । उनको भनाइ थियो, ‘उस (विपिन जोशी)लाई दुई–तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु ।’

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपालिका– ३ का वीरेन्द्र चौधरीसहित दुई सय ५३ जनाको विद्यार्थी टोलीलाई सरकारले यसअघि नै उद्धार गरिसकेको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com