काठमाडौं । किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पूर्वकर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौतीका ६४ वर्षीय पुष्करबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो। उनले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका हुन्।

वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी दाबी छ। उनीविरुद्ध सिआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ।

 

बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । उनले पेस गरेका कागजपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही अघि बढाइएको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन्।

१५ साउन ०५२ मा मन्त्रिपरिषद्को निर्णयले सो जग्गा प्रहरीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो। वन क्षेत्रको जग्गा प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो। पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ। नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ। सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ। बस्नेतले सो जग्गा आफ्नै दाबी गरी सर्वाेच्च अदालतमा पनि मुद्दा दायर गरेका छन्।

प्रहरीविरुद्ध मुद्दा हाल्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारी बताउँछन्। नापी हुँदाको बखत सो जग्गा वन क्षेत्रमा पर्ने उल्लेख थियो। नापी फर्म नम्बर १ क्षेत्रीय किताबमा पटक–पटक सच्याइएको छ। जग्गाको लगतसमेत केरमेट भएको छ । तत्कालीन फरेस्टर बेचन चौधरीको समेत हस्ताक्षर किर्ते भएको प्रहरी अनुसन्धानमा पुष्टि भएको छ। सरकारले सो जग्गा प्रहरीलाई दिएकोमा सरकारी कागजपत्र भोगहकसमेत मेटाइएको सिआइबीका अधिकारी बताउँछन्।

नाटकीय शैलीमा बस्नेतले सो जग्गा आफ्नो पार्ने प्रयास गरेका हुन् । जग्गा हात पार्ने योजनाअनुसार बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा अंश मुद्दा हाल्न लगाएका थिए । उक्त जग्गासमेत दाबी गरी मुद्दा हाल्न लगाएकोमा जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ।

अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी ०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रस्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न मानेनन्। सोविरुद्ध बस्नेत यतिवेला सर्वाेच्च गएका थिए । सर्वाेच्चमा मुद्दा दायर गर्दा प्रहरीलाई प्रतिवादी बनाएपछि मात्र प्रहरीले यसबारे जानकारी पाएको हो। अंशबन्डाको घुमाउरो तरिका प्रयोग गरी योजनाबद्ध रूपमा उनले सो जग्गा हात पार्ने योजना बनाएको प्रहरी अधिकारी बताउँछन्।

सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण पेस गरेका छन्। तर, मालपोत कार्यालयका अनुसार सो तिरो अर्काे १२ रोपनीसँगैको जग्गाको हो। जसकारण उनले अदालतलाई समेत भ्रममा पार्न खोजेको प्रहरी अधिकारी बताउँछन्।

नापी कार्यालयको फिल्डबुकमा सो जग्गा खर–चाहार भन्ने उल्लेख छ। खर–चाहार भन्नाले जंगल भएको जग्गा जनिन्छ। सो जग्गा ०५२ देखि नै प्रहरीले रोक्का राख्दै आएको छ। विस्तृत अनुसन्धानका क्रममा बस्नेतले किर्ते काम गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com