पोखरा -एमालेले अघिल्लो घोषणापत्रमा पूरा हुन नसकेका लक्ष्य हरुलाई समेटेर पोखरा महानगरको घोषणापत्र सार्वजनिक  गरेको छ ।

घोषणापत्रमा मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिइएको छ । यसअघिको चुनावमा समेत एमालेले घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरेको थियो । पोखरा विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजनालाई पनि समावेश गरिएको छ ।

रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने घोषणापत्रमा उल्लेखित छ । फ्लाइओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।घोषणापत्रमा साक्षरता, औसत आयु, प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि र मातृ, शिशु, बाल मृत्यु घटाई उत्कृष्ट मानव विकास सूचकांक भएको महानगर बनाउने लक्ष्य लिइएको छ ।

प्रत्येक वडामा एक खेल मैदान, बालमैत्री, अपांगतामैत्री र साइकल लेनसहितका फराकिला सडक, नदी किनारा तथा प्रती जमिनमा सार्वजनिक उद्यान एवं सहरी पूर्वाधार सम्पन्न महानगर बनाउने लक्ष्य घोषणापत्रमा छ ।महानगरका युवालाई प्राविधिक तथा व्यावसायिक तालिम दिई स्वरोजगारको अवसर सिर्जना गरी तालिमको प्रमाणपत्रका आधारमा बिनाधितो ऋण उपलब्ध गराउन संघ र प्रदेशको समन्वयमा आवश्यक व्यवस्था मिलाइने घोषणापत्रमा बताइएको छ ।

लामेआहालमा अत्याधुनिक बस टर्मिनल, अन्तर्राष्ट्रियस्तरको सभाहल, सुकुम्बासी र अव्यवस्थित बस्तीको व्यवस्थापन, विद्युतीय शव दाहस्थललगायत योजना एमालेको पहिले कै  घोषणापत्रमा पनि उल्लेखित थियो ।

व्यवस्थित ढल निकासको प्रबन्ध गरी वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै पोखरालाई पर्यटन तथा वातावरणमैत्री महानगर बनाउन उपयुक्त कार्यक्रम लागू गर्ने नीति घोषणापत्रले लिएको छ ।महानगरभित्रका ताल एवं जलाधार क्षेत्रको एकीकृत विकासका लागि अल्पकालीन तथा दीर्घकालीन चरणबद्ध योजना सञ्चान गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।एमालेबाट नगर प्रमुखका प्रत्याशी रहेका कृष्णबहादुर थापा र उपप्रमुखकी प्रत्याशी मन्जुदेवी गुरुङले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com