काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले एनसेलमा गैरकानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए । उनले एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुने आशंका व्यक्त गरे ।

‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुन सक्छ । त्यहाँ कयौँ कुरा हुन सक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ?’ लामिछानेले भने, ‘हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो ।’

एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने लामिछानेले बताए । उनले गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने बताए ।
कर छलीलगायतका विभिन्न गैरकानुनी काममा बृहत अनुसन्धान गर्नुपर्ने पनि लामिछानेको भनाइ छ । उनले एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिनलायक नभएको टिप्पणी गरे ।

‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? बृहत छानबिन सुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुनपर्छ, कर छली भएको हो भने अर्थमन्त्रीलाई थाहा छैन भन्नुभयो, यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ,’ लामिछानेले भने, ‘अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिनलायक पनि छैन ।

सरकारले गर्न खोजेको अलमल, समिति, आयोग मैले बुझेको छैन ।’
रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ । रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरूलाई आज शपथग्रहणसमेत गराएको छ ।

प्रकाशित मिति: २१ मंसिर २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com