चितवन । घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो। 

आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको उनले बताए। 

खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताए। 

यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो। निकुञ्जको हेडक्वाटर कसरा नजिकै माउते रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। चौधरी कसरास्थित हात्तीसार केन्द्रमा काम गर्थे। 

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com