काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए। 

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो। 

पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले दरबन्दी थप गरेर आइजिपीको रोल क्रममा ल्याउने गरी एकल बढुवा गरेर एआईजी बनाएको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकारले सिंहलाई राजेको हो ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ।

तर ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य लगायतलाई आधार बनाएर निर्णय लिने भनिएको छ ।

हालका आइजिपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधिका कारण भोलि(आइतबार) देखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

२०२४ सालमा दैलेखको विजौरामा जन्मिएका सिंह ३० वर्षे सेवा अवधि कायमै रहेको अवस्थामा अब एक वर्ष प्रहरी सङ्गठन चलाउनेछन् ।

प्रहरी नायब महानिरीक्षक(डिआइजी) छँदा मधेस प्रदेश र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को नेतृत्व गरेका सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा(हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए।

प्रशासन

 

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com