काठमाडौँ । वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत कुरा भइरहन्थ्यो । कुवेतबाट नेपाल फर्केपछि उनीहरूले भौतिक रूपमा चिनजान र भेटघाट गरे । उनीहरू बिचको दोस्ती ‘प्रेम’मा बद्लियो ।

उनीहरूको बिचमा विवाह गर्ने सहमति भयो । भक्तपुरमा फरक–फरक ठाउँमा भेटिराख्ने उमेशले एक दिन युवतीलाई भने–‘हामी विवाह नै गर्ने त होनी… ।’ युवतीलाई विवाह गर्ने सर्तमा उमेशले बलात्कार गरे । उमेश काभ्रेपलान्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–८ का स्थानीय हुन् ।

तर, सँगै घरजम गर्ने सर्तमा शरीर सुम्पेकी युवतीलाई थाहै नदिई उमेश फेरी कुवेत फर्किए । उनी सम्पर्कविहीन भएपछि युवतीले सम्पर्क गर्ने हर प्रयास गरिन् । परिवारसँग कुरा गर्दा परिवारका सदस्यहरूले गैह्र जिम्मेवार जवाफ दिए । त्यसपछि उनी प्रहरीकहाँ पुगिन् ।

युवतीको जाहेरीका आधारमा इन्टरपोलबाट उमेश विरुद्ध रेड नोटिस जारी गरिएको थियो । उमेशलाई पक्राउ गर्न नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

इन्टरपोलको सहयोगमा उमेशलाई कुवेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे प्रहरी वृत जगातिले अनुसन्धान गरिरहेको छ । पीडितले दिएको बलात्कारको जाहेरीका आधारमा अदालतबाट म्याद लिएर उनिबारे अनुसन्धान भइरहेको प्रहरी वृत जगातिकी डिएसपी दिप्ती कार्कीले रातोपाटीलाई बताइन् । उनले भने–‘सल्लाघारी र भक्तपुरको विभिन्न ठाउँमा बलात्कार भएको उजुरी दर्ता भएको थियो, हामि अनुसन्धान गर्दै छौं ।’

उमेश भक्तपुरका विभिन्न ठाउँमा भेटेर ‘विवाह गर्ने त होनी’ भनेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । पीडितले प्रलोभन देखाएर धोका दिएको आरोप लगाएकी छन् ।

 

 

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com