काठमाडौं । राजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रमको संयोजक बनेका रामप्रसाद बस्याललाई नेकपा एमाले रुपन्देहीले निष्कासन गरेको छ।

एमालेका स्थानीय नेता रहेका बस्याल गएको स्थानीय तह निर्वाचनमा पार्टीबाट रुपन्देहीको सिद्धार्थ नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेर पराजित भएका थिए।

तिनै बस्याल राजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोहको संयोजक बनेपछि एमालेले निष्कासन गरेको हो।

एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै एमाले नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र यसका मूलभूत मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउँदै त्यस विपरीत हिँडेकाले बस्याललाई पार्टीबाट निष्कासन गरिएको बताएका छन्।

एमालेमा बसेर नेपाली जनताले फ्याँकेको राजतन्त्रको पक्षमा आफूलाई उभ्याएर पार्टीको नीतिविरुद्ध लाग्ने कुरालाई किमार्थ स्वीकार नहुने र यस प्रकारको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै विज्ञप्तिमार्फत बस्याललाई आजकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ।

राजा ज्ञानेन्द्र यही पुस दोश्रो साता भैरहवा आउने तयारी छ। बस्यालले आफूले एमाले छाडि नसकेको तर धर्म निरपेक्षता र प्रदेश संरचनाका विषयमा पार्टीसँग असहमत रहेको बताउँदै आएका थिए।

प्रकाशित मिति: ८ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com