काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई फसाउन षडयन्त्र भइरहेको बताएका छन् । तीनदिने दबाब यात्राको शुभारम्भका अवसरका पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको समाचार बाहिर आएको छ । जीबीका तत्कालीन व्यापारिक साझेदार रहेका लामिछानेका नाममा पनि एक करोड रुपैयाँ पेस्की निकालिएको भन्ने समाचार कान्तिपुरमा आएपछि उनले त्यसलाई डिजाइन भनेका छन् ।

उनले पत्रकारसामू भने, ‘म पीडितहरूको पक्षमा छु । सुनियोजित रुपमा गरिएको चिज हो । जसले लेखेको छ त्यो उहाँ (उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ)को भातृ संगठनको सदस्य हो । उहाँलाई जीबी राईप्रति कुनै चासो होइन, मात्र जीबीलाई समातेपछि मेरो पनि केही भेटिहालिन्छ कि भनेर लागि राख्नु भएको छ । मेरो पछि लाग्दा हजारौं बचतकर्ता जो छन् । उनीहरूको भविष्य अँध्यारो भएको छ ।’

आफू पीडित भएको हुनसक्ने भन्दै सभापति लामिछानेले सत्यतथ्य बुझेर समाचार बनाउन आग्रह गरे । ‘कसैले मेरो नाम प्रयोग गरेको छ भने म पीडित भएँ । रवि लामिछाने पनि पीडित हुनसक्छ ? भनेर रिपोर्टिङ गरिदिने एकजना पत्रकार म यो देशमा खोजिरहेको छु । म यो देशमा एउटा पत्रकार खोजिरहेको छु,’ उनले अगाडि भने, ‘जसले सत्यतथ्य पत्ता लगाइदियोस् कि यसको नाम त प्रयोग भएको छ कतै यो पीडित त भएन भनेर खोजिदिने एउटा पत्रकारको मलाई खोजी छ । त्यो बन्दिनुहुन्छ भने मलाई स्वीकार्य छ । मलाई यो प्रतिसोध र लडाइ मा विश्वास पनि छैन ।’

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com