काठमाडौं । मदन पुरस्कार विजेता पूर्व डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखक समेत हुन्। शाहले २०६३ सालमा प्रकाशित आफ्नो कथासंग्रह ‘छापामारको छोरो’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए।

विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो।

जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहेका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु,  लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते, बुधबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भइ २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरुको २०७२ माघ र फागुनको तलब भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार केशव सिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलब/भत्ता खान पाउने गरी सरुवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

२०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थिए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर २ दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो। शाहसहितले जम्मा ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको थियो। शाहकै नेतृत्वमा तलबभत्ता तलबी भर्पाइमा किर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरी बाँडिचुडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ।

प्रकाशित मिति: ११ पुस २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com