काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टिकरण दिएका छन् ।

चितवन निर्वाचन क्षेत्र २ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा उनले आफ्नो बारे भएको टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको बताए ।

उनले सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसमेत फिर्ता नहुन्जेल लड्ने प्रतिबद्धता जनाए ।

उनको भनाइ जस्ताको तस्तैः
सहकारीका विषयलाई लिएर अनेकौँ टिकाटिप्पणी आएका छन् । विभिन्न सहकारीका प्रश्न आएका छन् । कहीँ कतै मेरै नाम जोडिएर आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । म मेरो लडाइँमा तपाईँहरूलाई जोड्न चाहन्न म मेरो लडाइँ आफै लड्न सक्षम छु जस्तो लाग्छ । जतिबेला मद्दत चाहिन्छ म तपाईँहरूलाई भनौँला ।
म यति भन्न चाहन्छु मेरो नियतबस मैले कहीँ कतै कसैको हिनामिना गर्ने कार्यमा मेरो सहभागिता संलग्नता छैन । त्यसलाई मैले मेरो आफ्नो ढंगले प्रष्ट पारेको छु । यदि हुँदो हो त मलाई नै जोडिएका सहकारीका सञ्चालकहरू जतिपनि छन् सबैलाई कारबाही गरियोस् भनेर मन्त्रीज्यूलाई पत्र दिने साहस हुने थिएन ।
यदि त्यस्तो हुन्थ्यो भने मैले आफैँले मन्त्रीज्यूलाई कारबाही गरियोस् भनेर पत्र बुझाएको पत्र र त्यहाँ मन्त्रीज्यूले लगाउनुभएको तोक आदेश यहाँहरूले देख्न सक्नुहुन्छ । त्यहाँ मैले सहकारीको नामै उल्लेख गरेको छु । मलाई शंका आरोप लगाइएको सहारा सहकारी पनि पर्छ । मैले नाम नै किटेर सहभागी जो छन् तीनलाई कारबाही गर्नको लागि भनेको छु । त्यस कारबाही भित्र आफूलाई अलग राख्ने भए, त्यहाँ त्यस्तो संलग्नता हुने भए आफैंलाई कारबाही गर्ने पत्र बोकेर म मन्त्रालय जानुपर्ने आवश्यकता थिएन । त्यसैले म यो कुरा स्पष्ट पार्न चाहन्छु ।
बचतकर्ताहरूको बचतको एकएक पाइ ब्याज सम्म फिर्ता नभएसम्म अन्तिमसम्म लड्ने मान्छेको नाम के हो रु भनेर कसैले सोध्यो भने रवि लामिछाने भन्नुहोला । कुनै पनि बचतकर्ताको पैसाको एकएक हिसाब चुक्ता नभएसम्म निरन्तर लडिरहनेछु । चाहे म हुँ, मेरो मान्छे हुन्, मेरा पार्टीका हुन् मेरा परिवारका हुन् जो कोहीका हुन् म त्यसबाट विमुख हुने छैन ।

  • न्युजगृह

प्रकाशित मिति: १२ पुस २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com