झापा — ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा एक जना नेपाली भ्लगर शनिबार सिक्किममा पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमा चाम्लिङ राईलाई शुक्रबार सिक्किमको राजधानी गान्तोकबाट पक्राउ गरिएको हो ।

उनले शनिबार पश्चिम सिक्किमको लेक्सेपमा राई समुदायले आयोजना गरेको अर्को साकेला उत्सवको प्रचार गर्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यही आधारमा उनलाई मुख्यमन्त्री पीएस गोलेको ठाडो निर्देशनमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

६ दिनअघि उनले पूर्वमुख्यमन्त्री पवन कुमार चाम्लिङसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गरेकी थिइन् । सिक्किमको प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले सत्तारुढ दलविरुद्ध भ्लगर चाम्लिङलाई प्रयोग गरेको आरोप सत्ता पक्ष दलले लगाएको छ । सत्तारुढ पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का एक नेताले भने,‘चुनावको मुखमा विपक्षीले नेपाली भ्लगरलाई प्रयोग गरेर साम्प्रदायिक हिंसा भड्काउन खोजेको पाइयो ।’

चाम्लिङलाई ५ दिनका लागि अदालतमा म्याद थप गरी शनिबार हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको सिक्किम प्रहरीले जनाएको छ । उनलाई गैरकानुनी गतिविधि रोकथाम ऐन (यूएपीए) अन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ ।

यसैबीच, सिक्किम प्रोग्रेसिभ युथ फोरमलगायतका संघसंथाले भ्लगर चाम्लिङलाई सिक्किम सरकारले झुटो आरोप लगाएर गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।

  • कान्तिपुर

प्रकाशित मिति: १५ पुस २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com