काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखामा कार्यरत एक विद्यालय निरीक्षक राजेश्वरप्रसाद चौरसिया भ्रष्टाचारका २० मध्ये १८ वटा मुद्दामा दोषी पाइएका छन्। चार वर्षअघि दायर मुद्दामा फैसला गर्दै विशेष अदालतले आइतबार उनलाई दुईवटा मुद्दामा सफाइ दिँदै बाँकी मुद्दामा कसुर कायम गरेको हो।

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार तत्कालीन विद्यालय निरीक्षक तथा शिक्षा अधिकृत चौरसियालाई भ्रष्टाचारका सबै मुद्दामा ६-६ महिना कैद भएको हो। विशेषले घुस लिएबराबरको रकम बिगोसमेत कायम गरेको छ।

भ्रष्टाचारको एउटा मुद्दामा मतियार कायम गर्दै विशेषले नागेन्द्रप्रसाद पटेललाई तीन महिना कैद तथा ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना गरेको हो।

श्री राम प्राथमिक विद्यालय पिपरडाढी, श्री नेपाल प्राथमिक विद्यालय दसाैता, श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय बिजबनिया, श्री रामजानकी प्राथमिक विद्यालय बिजबनिया, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरीगुठी र श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पाण्डेपुरमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

विद्यालय निरीक्षक चौरसियासमेत सम्बन्धित विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूमाथि मुद्दा दायर भएको थियो।
अख्तियारले अनुसन्धान गर्दै चौरसियाले आर्थिक लाभ लिई नक्कली कागजातहरूका आधारमा शिक्षकहरूलाई कामकाजमा लगाएका थिए। राहत करार शिक्षक र बाल विकास सहयोगी नियुक्तिमा भ्रष्टाचार गरेको अनुसन्धानले देखाएको थियो।

त्यसपछि २०७६ को असोज १ र ६ मा यी मुद्दा दायर भएका थिए। जसमाथि चार वर्षपछि न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनाराणसिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार फैसला सुनाएको हो।

घुस लिएको भनी अन्य व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएकोमा आठजनाले सफाइ पाएका छन्। हाकिम अन्सारी, महेशप्रसाद यादव, नागेन्द्रमहरा चमार, अब्दुल्लाह राउत, महेशप्रसाद यादव, रामविलासप्रसाद पटेल र महेन्द्रप्रसाद यादवले भने सफाइ पाएका छन्। बाँकी सबैमाथि कसुर कायम भएको छ।
आजको नयाँ पत्रीका दैनिकमा समाचार छ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com