काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइनबोर्ड’ र ‘ब्यानर’ हटाइने भएको छ । वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो ।

यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मागमा राखिएका विभिन्न साइन बोर्ड हटाउन सूचना समेत जारी गरेको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङद्वारा जारी सूचनामा तोकिएको समयसीमा भित्र सामग्री हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

पाथीभरा पदमार्गका विभिन्न ठाउँमा अव्यवस्थित रूपमा र त्यहाँ रहेका वनस्पति तथा रुखमा फलामका काँटी ठोकेर राखिएका साइन बोर्डले प्राकृतिक सौन्दर्यतामा प्रतिकूल असर पुर्‍याइरहेको सूचनामा उल्लेख छ ।

त्यस्तै फलामजन्य धातुका काँटी प्रयोग गर्नाले लोपोन्मुख तथा संरक्षित वनस्पति र बोटबिरुवा मासिने अवस्था देखिएको जनाइएको छ । पाथीभरा क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई बचाउन र स्वच्छ वातावरण कायम राख्नेगरी सुरु गरिएको अभियानलाई सहयोग गर्न समितिका कार्यकारी निर्देशक हाङ्बाङले सबै पक्षलाई अपिल समेत गरेका छन् ।

तोकिएको समयभित्र सामग्री नहटाएमा समितिले आवश्यक कदम चाल्ने पनि सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com