काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन्। हेटौँडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कार्यकर्ता तथा सर्वसाधारणको तामझाम स्वागतकाबीच उनले हेटौँडाको विभिन्न धार्मिक क्षेत्रमा पुगेर पूजापाठ गरेका छन्। विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा राजा ज्ञानेन्द्र शाह हेटौँडा आइपुगेका हुन्। उनको स्वागतमा राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले ठाउँ ठाउँमा स्वागत गेट बनाएर घडा थापेका थिए। बारा हुँदै हेटौँडा आएका शाहले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका थिए।

शुभेच्छुक तथा समर्थकको स्कटिङका बीच हेटौँडा बजार प्रवेश गरेका उनले हेटौँडा १३ नम्बर वडामा रहेको गुम्बामा केहीबेर पूजाआरधना गरेका थिए। पदमपोखरीबाट फर्किएर उनी हेटौँडा १० मा रहेको भूटनदेवी मन्दिरको दर्शनका लागि पुगेका थिए। मन्दिर र गुम्बाको दर्शन पछि उनले दिउँसो हेटौँडाको ५ नम्बर वडामा रहेको हेटौँडा रिसोर्टमा राप्रपाका विशिष्ट नेता र उनको स्वागत सत्कारका लागि खटिएकाहरुसँग भेटघाट कार्यक्रम गरेका छन्। राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरेको थियो।

शाहको स्वागतका लागि राप्रपाका नेता एवम् प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही लगायतका नेताहरू समेत हेटौँडा आएका थिए। पूर्व राजाको स्वागतका लागि राप्रपाका सांसद सिंहको संयोजकत्वमा एक हजार ११ सदस्यीय समिति गठन भएको थियो। शाहको स्वागतका लागि तराईका विभिन्न जिल्लादेखि कार्यकर्ता एवम् सर्वसाधारण हेटौँडा आएका थिए।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com