काठमाडौं । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ ।

‘टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित याे परेवा समातिएको थियो । शुरुमा प्रहरीले जासुसी गरेको आरोपमा चराविरुद्ध मुद्दा दर्ता गरेको थियो तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए रिपोर्टमा भनिएको छ ।

याे परेवालाई सहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको बताएकाे छ ।

पेटा इन्डियाका अनुसार प्रहरीले बुधवार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार याे परेवा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासुसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कैयौँमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । सन् २०१० मा अर्को परेवाको खुट्टामा औँठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com