एजेन्सी । ‘आमा, तपाईलाई बधाई छ ! तपाईले १७औँ ज्वाँइ पाउनुभयो ।’ युवती रेहाना बेगमले आफ्नी आमा मोइन बेगमलाई लेखेको मेसेज हो, यो ।

रेहानाले ४ वर्षको अवधिमा १७ जनालाई श्रीमान बनाउन बाध्य भइन् । सुन्दा पत्यार नलाग्ने यो घटना हैदराबाद (भारत) को हो ।

घटनाबारे थाहा पाउन सन् १९९० मा पुग्नुपर्छ, जतिबेला रेहानाले एउटा गरिब मुस्लिम परिवारमा जन्म लिइन् ।

रेहानाका बाबु–आमा ज्याला मजदुरी गर्थे । ’बिहान के खाउँ, साँझ के खाउँ’ भन्ने दयनीय अवस्था थियो । त्यसैमाथि स्लामिक समुदायको धार्मिक आस्थाले परिवारलाई जीवन धान्नै हम्मे–हम्मे थियो । उनी सानैदेखि बाबुआमासँग दिनभर इट्टा ओसार्ने काममा हुन्थिन् । बाटोमा सँधै आफ्नै उमेरका केटा–केटीहरु खेल्दै स्कुल भएको देख्थिन् । त्यो देख्था उनलाई पनि स्कुल जान मन लाग्थ्यो, तर रेहानालाई यो पनि राम्ररी थाहा थियो कि आफूलाई स्कुल पठाउन बाबुआमासँग पैसा छैन । आर्थिक समस्याले ग्रस्त परिवारमा जन्म लिएकी उनले विस्तारै स्कुल जाने र पढ्ने कुराको कल्पना गर्नै छाडिदिइन् ।

रेहाना परिवारको जठी छोरी थिइन् । त्यसले उनलाई परिवारको आर्थिक धरातललाई आत्मसात गरेर बाँच्ने कला सिकाइसकेको थियो । एकातिर समय रफ्तारले अघि बढिरहेको थियो भने अर्कोतिर परिवारमा सदस्य संख्या बढिरहेको थियो । सन् २००४ सम्म आइपुग्दा बाबुआमाले थप तीन जना बहिनीहरुलाई जन्म दिइसकेका थिए । बाबुआमा र रेहाना मात्रै हुँदा त परिवारलाई गुजरा चलाउन गाह्रो, तीनजना बहिनी थपिए पछि आर्थिकभार बढ्ने नै भयो ।
सन् २००४ को जुलाईमा एक दिन परिवारमा नयाँ प्रस्ताव आयो, रेहानाको बिहे गरिदिने । जतिबेला उनी भर्खर १४ वर्ष पुगेकी थिइन् । गाउँकै एक स्थानीयले ल्याएको प्रस्ताव थियो त्यो । उनले रेहानाको बाबुआमालाई भेटेर भने, ’तपाईकी जेठी छोरी अब तन्नेरी भइसकी । बिहे गरिदिनुपर्यो । मैले चिनेको एक जना मान्छे छन्, के छ विचार ?’
बाबुआमाले जवाफ फर्काए, ’हुन त हो ! तर अहिले नै हामीले यसबारे केही सोचेका छैनौ । यहाँ साँझ–बिहानको छाक किन्ने पैसा त छैन, बिहे गरिदिन लाग्ने खर्च झन् कसरी जुटाउनू ? अझै दाइजो दिनुपर्ला !’ प्रस्ताव गर्ने स्थानीयले आश्वस्त पार्दै भने, ’त्यो तपाईहरुले चिन्ता गर्नुपर्दैन । दाइजोपनि दिनु पर्दैन । बिहेको खर्च सबै तपाईको ज्वाइँले व्यहोर्छु भनेका छन् । बरु तपाईहरुलाई पनि बाँच्नै गाह्रो भएको हो भने दुई चार लाख ज्वाइँले नै सहयोग गर्न सक्छन् । छोरीलाई चाहीँ फकाउनुस् ।’

रेहानाको बाबुआमाबीच यसबारे रातभर छलफल भयो । उनीहरुले एकआपसमा भन्न थाले, ’हाम्रोजस्तो गरिब परिवारकी छोरी कुनै सम्पन्न परिवारमा जाने मौका पाउछे भने, त्यो छोरीको सौभाग्य हो ।’ अन्ततः उनीहरु रेहानाको बिहे गर्ने निधोमा पुगे ।
केही दिनपछि प्रस्ताव ल्याउने ती स्थानीय दुलाह लिएर रेहानाको घरमा गए । दुलाह थिए, एक अरवी शेख । जो ५५ वर्ष पुगिसकेका थिए । दुलाह देखेपछि बाबुआमा एकछिन् झस्किए । तर ’पैसाको अघि महादेवका पनि त्रिनेत्र खुल्छ’ भनेझैँ बाबुआमाले केही बोल्न सकेनन् । रेहानालाई पनि आफूभन्दा ४१ वर्षले जेठो ती अरबी शेखसँग बिहे गर्ने पटक्कै मन थिएन । तर आफ्नै परिवारले सहमति गरेपछि उनले नकार्न सकिनन् ।

अन्ततः शेखले मोटो रकम खर्च गरेर मुम्बइको एक होटलमा बिहे आयोजना गरे । रेहानाको बाबुआमालाई पनि तीन लाख दिए । र, बिहेको अन्त्यमा होटलमै पुगेर बाबुआमाले पनि छोरीलाई बिदाई गरे । बिहेपछि ती अरबी शेखले रेहानालाई आफ्नो घर दुबई लगे । भारतबाट दुबई जाँदै गर्दा रेहानाले जसोतसो आफ्नो मन बुझाउने प्रयास गरिरहेकी थिइन् । मनमा सोचेरहेकी थिइन्, ’श्रीमान बुढो उमेरको भए पनि ठिकै छ, बाआमा खुशी नै छन् । राम्रो परिवारमा गएपछि विस्तारै बहिनीहरुलाई पनि हेर्नुपर्ला ।’

दुःख भुलेर खुशी हुने प्रयास गरिरहेकी उनलाई के थाहा ठूलो दुःखको यात्रा बल्ल सुरु हुँदै थियो । ती अरबी शेखले रेहानालाई एक महिना घरमा लगेर राखे । दिनरात नभनी आफ्नो यौन प्यास मेटाए । डेढ महिनापछि रेहाना गर्भवती भइन् । त्यसपछि भने शेखले आफ्नो वास्तविक नियत र अनुहार देखाउन थाले ।

उनले रेहानालाई दुबईबाट पुनः भारत ल्याए । मुम्बईको एक रेलवे स्टेशनमा लगेर छाडे । त्यसपछि ती शेख कहिल्यै सम्पर्कमा आएनन् । रेहानाले कयौँ रात त्यही रेलवे स्टेशनको सडकहरुमा भोकभोकै बिताइन् ।

शुरुमा ज्वाईंले धोका दिएको कुरा सुनाएर उनी आफ्नो बाबुआमालाई तनाब होस् भन्ने चाहन्नथिन् । तर अलपत्र भएको करिब दुई महिनापछि रेहानाको केही सीप लागेन । र, बाबुआमालाई सबै कुरा भनिन् । उनीहरुले पनि गर्भवती छोरीलाई घर लिएर गए । र, गर्भपतन गराइदिए ।

त्यसको केही महिनापछि फेरि रेहानाकोे घरमा एकजना चिनेकै स्थानीय प्रस्ताव लिएर आए, बिहेको । छोरी दिएमा पाँच लाख नगद दिने ’अफर’ गरियो । चरम गरिबीबाट गुज्रिरहेका बाबुआमाले त्यो ’अफर’लाई धनी हुने ’अवसर’ माने । र, तत्कालै सहमत भए, रेहानाको दोस्रो बिहे गरिदिन । रेहानालाई थाहा भइसकेको थियो, आफ्नै बाबुआमाबाट बेचिदैछु भन्ने कुरा । तर, उनीसँग अर्को कुनै विकल्प पनि थिएन ।

रेहनाले कसैलाई गुहार्न सकिनन् । वास्तविक अपराधी आफ्नै बाबुआमा थिए । तर जन्मदाताविरुद्ध उनले कुनै कदम चाल्न सकिन्न् । बाध्यतामा परेर दोस्रो बिहे गरिन् । यस पटक उनका श्रीमान थिए, ७० वर्षीय एक वृद्ध शेख । जसको घर साउदी अरब थियो । ती वृद्धले बिहे गरेर साउदी लगे । त्यहाँ उनले रेहनासँग ८ रात बिताए ।

त्यसपछि उनले अर्को शेखलाई बेचे । रेहानालाई किनेका शेखले पनि करिब १७ रात बिताए । त्यसपनि उनले अर्कोलाई बेचे । यो श्रृंखला चलिरह्यो । एउटा शेखबाट अर्को, अर्कोबाट अर्को हुँदै उनी ४ वर्षको अवधिमा १७ जना पुरुषको श्रीमती बन्न बाध्य भइन् ।

रेहानाले कयौ पटक आत्महत्याको प्रयाससमेत गरिन्, तर सकिनन् । वास्तवमा, आफ्नै बाबुआमाबाट बेचिनु परेको सत्यताले उनलाई निरिह बनाएको थियो । आफूले दुःख पाए पनि बाबुआमा खुशी होलान् भन्ने सोचले एकदिन घरमा मेसेज लेखिन्, ’आमा, तपाईलाई बधाई छ ! तपाईले १७औँ ज्वाँइ पाउनुभयो ।’

तर, खाडी मुलुकहरुमा रेहानाको दुःखको श्रृंखला लामो बन्दै थियो, यता हैदराबादमा रेहानाजस्ता अन्य युवतीहरु पनि आफ्नै आफन्तबाट बेचिएको विषय सतहमा आइरहेको थियो । रेहानाले आमालाई पठाएको मेसेज प्रहरीले हात पारेपछि बाबुआमालाई नै नियन्त्रण लियो । र अनुसन्धान सुरु गर्यो । करिब २ महिनाको अनुसन्धानपछि प्रहरीले रेहानालाई ओमान घर भएका एक शेखबाट उद्धार गर्यो । उद्धारपछि अनुसन्धान गर्न झन् सजिलो भयो।

अन्ततः छ महिनापछि प्रहरीले हैदरावादमा आफ्नै बाबुआमाबाट बेचिने युवतीहरुको संख्या ८ हजार रहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक गर्यो । त्यसपछि हैदरावादमा करिब तीन सय जासुुसी परिचालन गरियो । त्यसको पाँच महिनामा करिब ७० जना स्थानीय दलालहरु प्रकाउ परे । दलालहरुको बयानपछि थाहा भयो दुबइ, साउदी अरब, जोर्डन, कुवेत, ओमान, सुडान, सोमालियालगायतका विभिन्न देशहरुबाट पैसावाल शेखहरु युवती खोज्दै भारत आउंथे । भारतमा ती शेखहरुलाई स्थानीय दलालहरुले सहजीकरण गरिदिन्थे।

एउटा युवती मिलाइदिएवापत न्युनतम ६० हजारदेखि अधिकतम १५ लाखसम्म पाउने गरेको स्थानीय दलालहरुले बयानमा भनेका छन् । उनीहरुबीच कोर्ड भाषा समेत सिर्जना गरिएको थियो । युवती खोज्ने प्रक्रियालाई उनीहरु ’अरबी कल्याणम’ भनेर अभिव्यक्त गर्ने गरेको बयानमा भनेका छन् । शेखहरुले पनि ’वान नाइट म्यारिज’को अवधारण भन्दै सयौँ महिलाहरुसँग बिहे गर्दै आएका थिए ।

ती स्थानीय दलालहरुले पनि प्रायः कमजोर आर्थिक अवस्था भएको गरिब परिवारका युवतीहरुलाई टार्गेट गर्थे । कहिल्यै एक लाख नगद नदेखेका गरिब परिवारलाई दुई–चार लाखको प्रलोभन दिएपछि सजिलै छोरी दिने गरेको उनीहरुको बयानमा उल्लेख गरिएको छ ।

एक स्थानीय दलालले भनेका छन्, ’यहाँ त्यस्ता परिवार पनि छन्, जसले जीवनमा २० हजारभन्दा बढी पैसा एकैसाथ कहिल्यै देखेका छैनन् । उनीहरुलाई आफ्नै सन्तानको पेट भर्न गाह्रो हुन्छ । आफ्नै सन्तानलाई दुई छाक खुवाउन नसक्ने परिवार पनि छन् । त्यस्तो परिवारलाई प्रस्ताव राख्दा हामीलाई काम गर्न सजिलो हुन्छ ।’

ती स्थानीय दलालहरुले आफूहरुले शेखहरुको आर्थिक हैसियत अकुसार्को युवती खोजिदिने गरेको स्वीकारेका छन् । उनीहरुले शेखहरुलाई तीन तहमा बाँडेका थिए । अटोमा चढेर आउने शेखहरुलाई युवती नभेटिदासम्म सामान्य होटलमा राख्थे भने ट्याक्सीमा चढेर आउनेलाई सुविधासम्पन्न र कारमा आउनेलाई पाँचतारे होटलमा ।

पक्राउ परेका ती सबै स्थानीय दलालहरु दिल्ली कारागारमा जेल सजाय भोगिरहेका छन् । अहिले पनि यदाकदा हैदरावादमा गरिब परिवारका युवतीहरु बेचिएको खबर आइरहन्छ । तर, पछिल्लो समय यस क्षेत्रमा प्रहरीले आफ्नो निगरानी बढाएको बताएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com