काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् ।

विमानस्थल प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका हुन् ।

डीआईजी चन्दले विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक (असई) सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगद पुरस्कारले पुरस्कृत गरेका हुन् ।

चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेको बताइएको छ । उनीहरुलाई पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो ।

डीआईजी चन्दले पुरस्कृत प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाएका हुन् ।

प्रहरी कर्मचारीहरुले विमानस्थलको शान्ति सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, असल आचरण, व्यवहार प्रदर्शन गरी प्रशासनिक लगायतका प्रहरी कार्यमा परिणाममुखी प्रहरी सेवा प्रदान गरी सेवा प्रदायक कर्मचारीहरु तथा यात्रुहरु समेतलाई सुरक्षाको अनुभूति गराउन ईमान्दार, पेशा प्रति समर्पित, व्यवसायिक, लगनशिल एवं पूर्ण निष्ठावान भई उत्कृष्ट तवरबाट कार्य सम्पादन गरेकाले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिंदा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गएको पुरस्कृत गरिएको जनाएको छ ।

केही दिनअघि अध्यागमन विभागका शाखा अधिकृतलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । विवादकै क्रममा हातपात भएको थियो । सोही घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो ।

समितिले असई तामाङ र जवान गुप्ताले कर्मचारीमाथि हातपात गरेको र निलम्बन गर्न सिफारिस गरेको थियो । समितिको निर्णयप्रति सर्वत्र आलोचना समेत भएको थियो ।

लगत्तै असन्तुष्ट जनाउँदै डीआईजी चन्दले समेत राजीनामा दिएका थिए । तर, उनलाई राजीनामा नबुझाउन आग्रह गरेपछि उनको राजीनामा फिर्ता भएको छ ।

प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com