एजेन्सी । भारतमा प्रहरीहरूले प्रहरी पोसाकमा एक पुरुषलाई पक्राउ गरेका छन् । आफ्नी बहिनीलाई १२ कक्षाको परीक्षामा पास गराउन प्रहरीको भेष बनाएर परीक्षा हलमा गएपछि प्रहरीले २४ वर्षका अनुपम मदन खन्दारेलाई समातेका हुन् । यो घटना महाराष्ट्रको हो । फेब्रुअरी २१ मा भारतको महाराष्ट्रमा उच्च माध्यमिक बोर्डको परीक्षा सुरु भएको थियो ।

राज्यको पतुर सहरस्थित शाहबाबु उर्दु उच्च विद्यालयमा परीक्षा चलिरहँदा खन्दारे प्रहरी पोसाकमा छिरे । ती युवक परीक्षामा चिट चोर्नबाट रोक्न होइन आफ्नी बहिनीलाई चिट चोराउन गएका थिए । एक दिन प्रहरी पोसाकमा आँखा गएपछि उनको दिमागमा प्रहरीको भेष बनाएर परीक्षा हलमा जाने ‘आइडिया’ आएको थियो । तर स्थिति उनले सोचेजस्तो भएन ।

खन्दारे परीक्षा हलमा त सजिलै छिरे । बहिनीलाई चिट चोर्न सहयोग गर्न लागेकै थिए । सक्कली प्रहरीको टोली परीक्षा हलमा टुप्लुक्क आइपुगे । सक्कली प्रहरीको टोलीलाई देखेपछि खन्दारेले सलाम ठोके । तर उनको अप्ठ्यारो हाउभाउले शङ्का उत्पन्न गरायो ।

सक्कली प्रहरीको टोलीले २४ वर्षीय युवकको पोसाक नियाले ।
यस क्रममा पोशाकमा टाँएिको नेम प्लेट नै अशुद्ध पाए । उनको पोसाकको स्तर पनि शङ्का उब्जाउने खालको थियो । प्रहरीहरूले खन्दारेलाई केरकार गरे अनि उनको बगली चेक गर्न थाले ।

चेकजाँचका क्रममा उनको बगलीबाट एक मुठ्ठी चिट निस्कियो । प्रहरीहरूले उनलाई हिरासतमा राखेका छन् । सरकारी कर्मचारीको भेष धरेको भन्दै अभियोग पनि चलाएका छन् । भारतमा बेला बेलामा यस्ता खालको उटपट्याङ हर्कतहरु आइरहन्छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com