नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओली राजावादी भएको बताए । गृह जिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।                                          ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप लगाउँदै उनले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने पनि बताए ।

ओलि को दक्षिणपन्थी सोचका कारणले स्थानीय तह निर्वाचन मा ओलि पराजित हुने भन्दै उनले भने -‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरुसँग छ । प्रतिगामीहरुसँग छ । ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ । यो उहाँका व्यवहार र संगतहरुले पुष्टि गरेको छ’।        एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो गलत प्रमाणित भइसकेको बताउँदै पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक/एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पुर्‍याउनका लागि कोसिस गर्दै हुनुहुन्छ।’
कमल थापा, परिवार दल र काँग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा बुझ्ने मौका पाएको भन्दै उनले भने -‘उहाँ  पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले केपी ओलीले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ । काँग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एक जना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ।’                                     ओली जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको पनि उनले आरोप लगाए। ‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ । बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं । ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन् ।’ नेता पुनले भने ।

पाँच दलीय गठबन्धन बलियो बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको र आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको पनि उनले बताए ।नेता पुनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए ।उनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं । संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत  संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ।’
मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले दण्डित गर्ने भन्दै नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने पनि विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com