काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् । आज बेलुका नयाँ दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ जान लागेका हुन्।
लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदीले तेस्रो पटक भारतको प्रधानमन्त्रीको शपथ लिँदै छन् । मोदी र सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिनेछन्।
शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको छ । छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ , मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत शपथग्रहणमा सहभागी हुनेछन्।
केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया