काठमाडौँ । सहकारी ठगी गरेर फरार रहेका ‘जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं’ भन्दै चर्को भाषण गरेका गृहमन्त्री रवि लामिछानेले आफ्नो भनाइ भाषणमा मात्र सिमित राखेका छन्।

सुर्य दर्शन तथा सुप्रीम सहकारी लगायतका सहकारी ठगी गरेर लामो समयदेखि फरार रहेका राई ग्यालेक्सी फोके टेलिभिजनका मालिक समेत हुन्। उक्त सहकारी ठगीमा गृहमन्त्री स्वयंको नाम समेत मुछिएका कारण जिबी राई पक्राउ गर्न गृहमन्त्रीको आनाकानी देखिएको सहकारी पिडितहरु बताउँछन्।

तत्कालीन समयमा पार्टीको पत्रकार सम्मेलनमै तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवी राईलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना गरेका थिए । तर, आफू गृहमन्त्री भएपछि पनि रविले जीवीलाई पक्राउ गर्न सकेका छैनन् । देशका बिभिन्न स्थानमा रहेका सहकारीबाट अर्बौ ठगेर फरार भएका जीवी राईलाई पक्राउ गर्न गृहमन्त्रीले आनाकानी गरेको सुरक्षा निकायका एक अधिकृत बताउछन् ।

सहकारी ठगीमा आफू स्वयं मुछिएकाले जिबि राई पक्राउ पर्दा आफैलाइ समस्या निम्तने खतरा देखिएपछी गृहमन्त्री लामिछाने जिबि राई बारे चर्को बोल्ने तर पक्राउ नगर्ने मनस्थितिमा देखिन्छन्।

आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न जीबी राईलाई कहिले पक्राउ गर्ने तयारी भएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा प्रश्न समेत गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा प्रमुख सचेतक शाहीले देशभन्दा जीबी राई ठूलो हो ? भनेर प्रश्न गरेका हुन् ।

‘आज यो देश नेपाल ठूलो हो कि जीबी राई ठूलो हो ? मलाई त लाग्दछ यो देश नेपाल भन्दा ठूलो जीबी राई हो । एउटा जीबी राईलाई यो सरकारले पक्राउ गर्न सकेको छैन । हामी माग गर्न चाहन्छौं जीबी राईलाई छिटोभन्दा छिटो पक्राउ गरियोस्,’ शाहीले प्रश्न गरे, ‘पुराना दलहरूले काम गर्न, सुशासन गर्न सकेनन् भनेर हामीलाई जिताएर पठाइएको हो । तर, फाइल खोज्ने भनेको ९ मिनेट, ४ मिनेट, २ मिनेटमा आकाशमा भएपनि पातालमा भएपनि जीबी राई खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो कहिले पक्राउ गर्नुहुन्छ ? हामीले हेरेर बसिराख्या छौं ।’

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com