काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् ।
काँग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
काँग्रेसमा भने मन्त्रीहरू छनोट सुरु भइसकेको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीको नेतृत्व गरेर जाने नेताबारे छलफल गरेका छन् । नेताहरूका अनुसार दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा गइसकेकाले नयाँ सरकारमा पठाउने सम्भावना छैन ।
डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरेर जाने रुचि नदेखाएको बताइएको छ । त्यसैले देउवाले महामन्त्री गगन थापालाई सरकारमा पार्टीको नेतृत्व गरेर पठाउन चाहेका थिए । तर उनले सरकारमा नजाने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न आफूलाई भ्याई नभई रहेको बताएका छन् । ‘पार्टी सभापति सहितका नेताहरूलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु,’ उनले भने, ‘पार्टीको महामन्त्रीको रूपमा यो बाँकी रहेको समय काम गर्छु ।’
संसदको दुई ठूला दल काँग्रेस र एमाले मिलेर बन्ने सरकारलाई शक्तिको दुरुपयोग नगर्न सचेत गराउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आफू अहिले सरकारमा नजाने बताइसकेका छन् ।
प्रकाशित मिति: २८ असार २०८१, बिहिबार
प्रतिक्रिया