काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआइजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन्।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआइजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन्।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरीकन गृहमन्त्रीले डिआइजीलाई दुई महिना नपुग्दै सरुवा किन गरेको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन्।
उनले कर्मचारीहरुको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआइजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए। उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए।
सरुवा गरेर जिआईजीको ठाउँमा डिआइजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन उनले आग्रह गरे।
उनले भने ‘सरुवाको कुरा भन्नुभयो, कर्मचारीको सरुवा हुन्छ। बढुवा पनि हुन्छ। निरन्तरको प्रक्रिया हो। सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर। तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ। जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उहाँ अत्यन्त योग्य मानिस हो। र योग्यतम ठाउँमा पुग्नुभएको छ। किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि। प्रहरी राम्रो बनाउनु पर्यो। अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उहाँ जानुभयो, डिआइजी गएर इन्स्पेक्टर त आएको होइन होला नि। अर्को डिआइजी आएको होला नि। त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु।’
प्रकाशित मिति: १७ श्रावण २०८१, बिहिबार
प्रतिक्रिया