काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरूले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरूले पुष्टि गर्दै लगेको बताए ।
पुनले बिचौलियाहरूले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री ‘प्रचण्ड’ र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनको भनाइ थियो ।
देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रूपमा बढेर जाने दाबी पुनले गरे । त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर संघर्ष गर्ने नीतिमा आफूहरू रहेको पुनले बताए ।
प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार
प्रतिक्रिया