काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेलाई चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको बताएका छन्।

उनले आफ्नो नेतृत्वको सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ ले सरकार र पार्टी नेतृत्वलाई बदनाम गर्ने, चरित्र हत्या गरी आक्रमण सुरु गरेकाले सतर्कता अपनाउन सचिवालय सदस्यलाई आग्रह गरेका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बिहीबार बसेको सचिवालय बैठकमा उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताए।

‘केही अराजकतावादी शक्ति र केही पार्टीले सरकार र एमालेमाथि आक्रमण सुरु गरेका छन् ।नेतृत्वको चरित्र हत्या गर्ने, सरकारमाथि आक्रमण गर्ने र मुलुकमा अराजकता फैलाउने शक्तिहरू सक्रिय छन्’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यस्ता अराजकता गतिविधि नियन्त्रण गर्न सरकार सजग नै छ र पार्टीको तर्फबाट पनि सचेतता अपनाउन आवश्यक छ । त्यस्ता गतिविधिको प्रतिवाद गर्न जरुरी छ।’

काँग्रेस एमाले गठबन्धन सरकारले राम्रो सुरुवात गर्न खोजे पनि अवरोध सिर्जना गर्ने काम भइरहेको उल्लेख गर्दै परिणाम निकाल्न प्रयासरत रहेको बताए । सरकार अघि बढ्न कुनै समस्या नभएको भन्दै आगामी दिनमा परिणाम निकाल्न सरकार सशक्त रूपमा प्रस्तुत हुने ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले इजरायल प्यालेस्टायन, रुस युक्रेन युद्धले अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति जटिल बनाएको उल्लेख गर्दै युद्धका कारण सर्वसाधारणको गम्भीर मानवअधिकार उल्लंघन भइरहेको बताए ।

सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजनको मस्यौदा पेस गरेका थिए । एमाले सरकारमा गएपछि बदलिँदो राजनीतिक परिस्थितिमा एक वर्षभित्र पार्टीले गर्ने कार्यक्रम समेटेर कार्ययोजना प्रस्तुत भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पार्टी संगठनलाई गतिशील बनाउने, सदस्यता वितरणलाई तीव्रता दिने, सदस्यता नवीकरणलाई चुस्त बनाउने, केन्द्रदेखि स्थानीय तहसम्म नियमित बैठक गर्ने, प्रदेश र जिल्ला तहमा देखिएका अन्तरसंघर्ष, मतभेदलाई तुरुन्तै हल गर्नेलगायत कार्ययोजनमा समेटिएको छ।

वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिन भदौ १८ र १९ मा पालिटब्युरो बैठक बोलाएको गौतमले जानकारी दिए । ‘पार्टी संगठनलाई गतिशील बनाउने कार्ययोजना पोलिटब्युरो बैठकले पारित गर्नेछ’ उनले भने ।

एमाले सरकारमा गएपछि अध्यक्ष एवं प्रधानमन्त्रीको मुख्य ध्यानमा सरकारमा केन्द्रित भएकाले पछिल्लो समय पार्टीका गतिविधिमा शिथिलता आएपछि कार्ययोजना बनाउन लागिएको हो ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com