काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अशान्ति र अराजकता मच्चाउन खोज्ने तत्वहरूको अवान्छित गतिविधिहरूप्रति सरकार सजग रहेको र कडाइका साथ नियन्त्रण गरिने बताएका छन् ।

टुँडिखेलमा प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध नाराबाजी गर्ने युवाहरू पक्राउ परेको अवस्थामा ओलीको यस्तो टिप्पणी आएको हो ।

पार्टी केन्द्रीय सचिवालयको बिहीबारको बैठकमा विश्व राजनीतिक परिस्थिति र नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै ओलीले बंगलादेश र श्रीलंकाजस्ता देशमा भएका घटनाबाट अराजकतावादी उत्साही भएको बताए । लोकतन्त्रविरोधी तत्वहरूले मूलधारका नेतामाथि सार्वजनिक रूपमा गालीगलौज गर्ने, आरोप लगाउने र कार्यक्रम नै बिथोल्नेजस्ता अवान्छित गतिविधि गर्न खोजेको भन्दै ओलीले त्यसलाई सरकार र पार्टीले एकैसाथ प्रतिवाद गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

‘अहिले अन्तर्राष्ट्रिय राजनीति तनावग्रस्त छ । रुस–युक्रेन युद्ध चर्किँदै गर्दा अमेरिकाको सक्रियता र चासो बढेको छ । इजरायल र हमासबिचको द्वन्द्वमा ठुलो संख्यामा सर्वसाधारण मारिएका छन् ।

अमानवीय गतिविधि बढेको छ । दुई पक्षबिचको त्यो घटनाले अरू ठुला देशहरू पनि जोडिन सक्ने स्थिति छ । छिमेकी मुलुक बंगलादेशमा निर्वाचित सरकारलाई विद्रोहबाट हटाइएको छ, त्यहाँ अराजकताको स्थिति छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हाम्रो देशमा पनि अराजकतावादी तत्वहरूले अशान्ति मच्चाउन खोज्दै छन् । जनताको असन्तुष्टि उपयोग गर्न खोज्दै छन् । पछिल्ला दिनमा मूलधारका दुई ठुला दल र अन्य पार्टीका नेतामाथि गालीगलौज बढेको छ । अरोप लगाउने र सार्वजनिक कार्यक्रम बिथोल्नेसम्मको प्रवृत्ति देखिएको छ । यस्ता गतिविधि खाली एउटा पार्टी या नेताविरुद्ध मात्र लक्षित छैनन् । लोकतान्त्रिक गणतन्त्रमाथि नै लक्षित छ । त्यसैले चुप लागेर बस्दा व्यवस्थामाथि नै संकट नआउला भन्न सकिन्न ।’

प्रधानमन्त्री ओलीले त्यस्ता अराजक गतिविधिप्रति सरकार सजग रहेको भन्दै कडाइका साथ नियन्त्रण गर्ने जानकारी गराए । एमालेजस्तो जनआधार र व्यापक संगठन भएको पार्टीले पनि एकताबद्ध भएर तलैसम्म प्रतिवाद गर्नुपर्ने ओलीले औँल्याए ।

‘अराजक तत्वहरूको अराजक गतिविधिप्रति सरकार सजग र होसियार छ, नियन्त्रण गर्छ । एमालेजस्तो सबल, सुदृढ, जनआधार र व्यापक संगठन भएको पार्टी यस्ता घटनाप्रति चुप लागेर बस्नुहुँदैन । पार्टीलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाएर जस्तोसुकै चुनौती र कठिनाइहरू प्रतिवाद गर्दै अगाडि बढाउनुपर्छ ।’

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com