काठमाडौं । आफूलाई नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बताउँदै लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति नुवाकोट दुप्चेश्वर-४ घर भई हाल काठमाडौँको कालोपुल बस्ने वर्ष २५ को सुमन तामाङ भन्ने मिङमार तामाङ हुन् ।

तामाङले आफूलाई प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको प्रहरी निरीक्षक हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।

गत साउन २२ गते काठमाडौँको डल्लु बस्ने तीर्थलाल तामाङको एक तोलाको सुनको सिक्री र नगद रु ६७ हजार रुपैयाँ लिएर तामाङ फरार भएका थिए । यही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनले प्रयोग गर्ने गरेको २२० सिसिको पल्सर मोटरसाइकल समेत चोरीको रहेको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानको क्रममा आफूलाई सुमन तामाङ भनेर चिनाउने गरेका उनले अन्य व्यक्तिहरूलाई समेत ठगी तथा लुटपाट गरेको भनी काठमाडौँ उपत्यका अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा आठ वटा निवेदन परेको पाइएको छ ।

लुटपाट पश्चात् उपत्यकाका विभिन्न लज तथा होटलहरुमा बस्ने र बिल (रकम) समेत नदिई सञ्चालकहरूलाई म सादा पोशाकको प्रहरी निरीक्षक हो भनी धाकधम्की दिने गरेको समेत खुलेको छ ।

आफूलाई सादा पोशाकको प्रहरी बताउने तामाङले जस्तो सुकै समस्या परेको खण्डमा समेत सहयोग गर्ने विश्वास दिलाउँदै नजिकको सम्बन्ध स्थापित गरे पश्चात् ठगी तथा लुटपाट गर्ने गरेका थिए ।

तीर्थलाल तामाङबाट लिएको सुनको सिक्री उनले गोगंबुमा रहेको बागलुङ भगवती सुनचाँदी पसलमा लगेर विक्री गरेका थिए । चोरीको सामान किनेको अभियोगमा प्रहरीले उक्त पसलका सञ्चालक बागलुङ काठेखोला-२ स्थायी ठेगाना भएका ६३ वर्षीय बल बहादुर सुनारलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तामाङ र सुनार उपर आवश्यक कारबाहीको लागि प्रहरी परिसर काठमाडौँ पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com