काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कसैले चाहँदैमा नेपालमा बंगलादेश र श्रीलंकाजस्तो अवस्था नआउने दाबी गरेका छन् ।

शनिबार राजधानीमा क्याप्टेन रामेश्वर थापाले लेखेको पुस्तक ‘इन्टु द फायर’ विमोचन गर्दै उनले कसैले चाहँदैमा नेपाल बंगलादेश जस्तो नहुने बताए ।

‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन होइन । कसैले गर्न खोजे पनि, चाहे पनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ? हामी त सधैँ बारुदमाथि नै, बारुदका बिचमै यात्रा गरेर आएका हौँ । आजदेखि होइन, आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु,’ उनले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि संसद्मा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले सो धारणा राखेका हुन् । ओलीले प्रधानमन्त्रीको कुर्सीमा रहन एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको पनि बताए । आलोपालो सहमतिअनुसार कांग्रेस सभापति देउवालाई हप्ता दिनअगाडि नै प्रधानमन्त्री पद छोड्ने उनले दोहो¥याए । ‘मलाई मन नपराउनेहरूका लागि खुसीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ,’ उनले भने, ‘त्योभन्दा हप्ता दिन अगाडि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’

सो अवसरमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्तागठबन्धनको सहमति क्याप्टेन थापाको निवासमा भएको स्वीकार गरेका छन् । देशलाई स्थिरतामा लैजान देउवासँग मिलाउन थापाले भूमिका खेलेको ओलीले बताए । ‘यसपटक पनि शेरबहादुरजी र मलाई देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर सातबुँदे निष्कर्षमा त्यहीँ सही ग¥या हो उहाँ क्याप्टेन रामेश्वरकै निवासमा । ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो ।’ ओलीले थापालाई पछिल्ला घटनाक्रमसमेत समेटेर अर्को पुस्तक निकाल्न सुझावसमेत दिए । थापाले एमाले नफुटोस् भनेर माधवकुमार नेपाल र आफूबीच संवाद गराएको पनि बताए ।

कांग्रेस सभापति देउवाले वर्तमान सत्तागठबन्धन बनाउन क्याप्टेन थापाको ठुलो योगदान रहेको बताए । ओलीअघि बोलेका देउवाले भने, ‘यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मलाई नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठुलो मद्दत गर्नुभएको छ । यसकारण म हाम्रो पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ थापालाई प्रधानमन्त्री ओलीनिकटको व्यक्ति भनेर चिनिने भए पनि यथार्थमा उनी सबैलाई सहयोग गर्ने व्यक्ति भएको देउवाले बताए । ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ,’ देउवाले भने ।

प्रकाशित मिति: १६ भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com