काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई दिनअघि फेसबुकमा पोष्ट गरेको स्टाटस गायब भएपछि सामाजिक सञ्जाल तातेको छ। आफैँले राखेको पोस्ट डिलिट गरेको भन्दै बालेनको आलोचना भइरहेको छ।

उक्त स्टाटसमा मेयर साहले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई पक्राउ गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएका थिए। तर, उक्त स्टाटस मंगलबार विहान गायब भएको छ। मेयर साहले झुटो कुरा लेखेकाले अहिले आफैँ डिलिट गरेको आरोप लागिरहँदा मेयर साहको सचिवालयले भने उक्त स्टाटस मेयर आफैँले डिलिट नगरेको दाबी गरेको छ।

मेयर साहका स्वकीय सचिव भुपदेव साह सो स्टाटसबारे कसैले फेसबुकलाई रिर्पोट गरिदिएपछि फेसबुकले नै उक्त पोस्ट हटाइदिएको बताउँछन्। ‘कम्युनिटी गाइडलाइन भन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको हामीले बुझेका छौं, यो मेयरसाबले आफैँ हटाउनुभएको होइन, कसैले फेसबुकलाई रिपोर्ट गरेकाले फेसबुकले हटाएको हो। तर मेयरसाबले कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन,’ उनले भने, ‘हामी आशावादी र्छौं, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ, तर कतिपयले कुरै नबुझी स्टाटस मेयर साबले नै हटाएको भनिरहेका छन्, त्यो सत्य होइन।’

स्वकीय सचिव साहका अनुसार सचिवालयले फेसबुकसँग सम्पर्क गरेर सत्य बुझाउने तयारी गरेको छ। सांसद शर्माविरुद्ध तीन महिनाअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको छ। तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि बालेनले प्रधानमन्त्रीमाथिसमेत आक्रोश पोख्दै स्टाटस लेखेका थिए।

प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com