काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ ।

प्रसाईँलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो । त्यसको विरोधमा महाअभियानले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।

महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिकको जीवन रक्षार्थ शान्तिपूर्ण रूपमा चालिएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको हननमा सरकार लागेको आरोप लगाएको छ ।

साथै महाअभियानले प्रसाईँका साथै सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको जनाएको छ ।

‘सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते  देशै भर विरोध सभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला,अञ्चल तथा केन्द्रीय पदाधिकारीज्युहरुलाई  यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ’, महाअभियानको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com