काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना र शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिनचन्द्रघण्टा देवी, चौथो दिन र पाँचौँ दिन कुष्माण्डा देवी, छैटौँ दिन स्कन्दमाता, सातौं दिन कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । यसै दिन दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो ।
आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष अष्टमी र नवमी एकै दिन परेको छ।
प्रकाशित मिति: २५ आश्विन २०८१, शुक्रबार
प्रतिक्रिया