काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्।

उनले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुग्यो भनेर प्रश्न गर्दै भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’

आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सच्याउन आग्रह गरे।
‘नत्र संसद र सडकमा तपाईंले त्यो प्रतिरोध देख्नुपर्ने छ, जसको तपाइँहरूले कल्पना गर्नुभएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महंगो पर्ने छ।’

यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्योभन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे।

‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन?’, अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने, ‘संसदको रोष्टममा भद्र तरिकाले मागिन्छ जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिने छ जवाफ।’

 

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com