काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा छन्।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो। जहाँ उनको बयान चलिरहेको छ। रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै कात्तिक ३ देखि विरोध प्रदर्शन गर्दै आएको छ। जसमा उनीहरूले प्रधानमन्त्री र सरकारको आलोचना गर्दै आएका छन्।

सडकमा रास्वपाका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेतामाथि आक्रामक बोलिरहेका छन् । कतिपय नेताहरूले हिंस्रक अभिव्यक्ति समेत दिइरहेका छन् । रास्वपा नेताहरूले आन्दोलन गरिरहँदा सडकबाटै सरकार फाल्नेसम्मका चेतावनी पनि दिइरहेका छन् ।

यसरी एकातिर सरकार र सत्ताधारी दललाई ललकारी रहेको रास्वपाका नेताहरू भित्रभित्रै रविलाई हिरासतमुक्त गरेर अनुसन्धान रोकिदिन हारगुहार गरिरहेको खुलेको छ ।

सोमबार रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले क्रमशः गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। अर्यालले गृहमन्त्रीसँग एक्लै भेट गरे भने परियार र अर्यालले प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेका थिए।

‘सोमबार साँझ डीपी अर्याल र सन्तोष परियार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउनुभएको थियो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले ग्लोबल नागरिकसँग भने,‘भेटमा के–के भयो भन्ने हामीलाई जानकारी हुने कुरा भएन ।’

रास्वपाले एकातिर सडकमा आन्दोलन चर्काउने र अर्कोतिर प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भेटको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपा नेताका यस्ता गतिविधिविरुद्ध सत्तारूढ दल नेकपा एमालेका नेताहरू भने खरो रूपमा उत्रिरहेका छन् । एमालेका नेता विष्णु रिजालले त सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस राखेर रास्वपा नेताका यस्ता गतिविधिले मुद्दा फिर्ता नहुने प्रतिक्रिया दिएका छन् ।

‘दिनभरि प्रधानमन्त्रीका विरुद्धमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर रविजीलाई बचाइदिनुपर्‍यो, लौ न भनेर हारगुहार गर्दा हुन् ?,’ एमाले नेता रिजालले प्रश्न गर्दै लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ–राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहाँले चाहँदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।’

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com