काठमाडौँ । संयुक्त राज्य अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि विश्वका विभिन्न देशका स्टक मार्केटहरूले मिश्रित प्रतिक्रिया देखाएका छन्। प्रमुख स्टक बजारहरूदेखि रणनीतिक दृष्टिले महत्त्वपूर्ण बजारहरूसम्म यसले भिन्न भिन्न असर पारेको छ।
अमेरिका, युरोप, र रूसका स्टक मार्केटहरूले सकारात्मक प्रतिक्रिया देखाएका छन् भने चीन र मध्यपूर्वका बजारहरूमा गिरावट आएको छ। विश्वको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज मानिने न्यूयोर्क स्टक एक्सचेन्जको परिसूचक आज १.३५ प्रतिशतले वृद्धि भएको छ।
अमेरिकाको डाउ जोन्स इन्डस्ट्रियल एभरेज परिसूचक २.४२ प्रतिशतले बढेको छ भने एस&P ५०० परिसूचक १.२३ प्रतिशत र नास्डैक कम्पोजिट परिसूचक १.४२ प्रतिशतले माथि गएको छ।
युरोपका प्रमुख बजारहरूले पनि सकारात्मक प्रगति देखाएका छन्। ब्रिटेनको एफटीएसई १०० इन्डेक्स १.४६ प्रतिशतले, फ्रान्सको सीएसी ४० इन्डेक्स १.६६ प्रतिशत र जर्मनीको डीएएक्स इन्डेक्स १.१६ प्रतिशतले बढेको छ।
तर, चीनको सांघाई स्टक एक्सचेन्जको एसएसई कम्पोजिट परिसूचक ०.०९ प्रतिशतले घटेको छ। हङकङ स्टक एक्सचेन्जको हाङसेन परिसूचक भने २.२८ प्रतिशतले तल गएको छ। थाइल्यान्ड र दक्षिण कोरियाका परिसूचकहरू पनि सामान्य गिरावटमा छन्।
रुसमा भने अधिकांश स्टक एक्सचेन्जहरूमा सकारात्मक वृद्धि भएको छ। रूसको मस्को स्टक एक्सचेन्जको आईएमओईएक्स परिसूचक ३.२७ अंकले बढेको छ। भारतको बम्बई स्टक एक्सचेन्ज र निफ्टी ५० परिसूचकहरू पनि १.१७ प्रतिशतले बढेका छन्।
प्रकाशित मिति: २१ कार्तिक २०८१, बुधबार
प्रतिक्रिया