सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि गणतन्त्रविरोधी दृष्टिकोण रहेको आरोप लगाएका छन्। सोमबार वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादीको कर्णाली प्रदेश अधिवेशनमा बोल्दै उनले एमालेमा हुँदा गणतन्त्रको विषयमा केन्द्रीय समितिमा निर्णय गर्दा ओली र विष्णु पौडेलजस्ता नेताहरूले विरोध गरेको स्मरण गरे।

नेपालले भने, “त्यस समयमा ठूलो विवाद भएको थियो। गणतन्त्र नेपालमा असम्भव छ भनेर ठूला नेता ओली र पौडेलजस्ता व्यक्तिहरूले असहमति जनाएका थिए।” उनले ओलीले बयलगाडामा चढेर अमेरिका पुग्न सकिन्छ भनेर गणतन्त्रको खिल्ली उडाएको पनि उल्लेख गरे।

नेपालले थपे कि ओलीले राजतन्त्र हटाउन आन्दोलन गर्न सकिँदैन भन्ने धारणा लिएका थिए, तर आफूले नेतृत्व गरेर गणतन्त्र स्थापनामा सफलता प्राप्त गरेको दाबी गरे। उनले भने, “गिरिजाप्रसाद कोइरालाले मलाई गणतन्त्रमा नजाऊ भनिरहेका थिए, तर मैले आन्दोलन अघि बढिसकेको भन्दै सबलाई लाग्न आग्रह गरें। यही संघर्षले गणतन्त्र स्थापना भयो।”

ओली कहिले काँही आफ्नो कोठामा बसेको कुरा पनि उनले सुनाए। एमाले विभाजनपछि ओलीले आफूलाई समर्थन जनाउँदै प्रशंसा गरेको प्रसंग सम्झँदै उनले भने, “केही स्वार्थका लागि आएका थिए, प्रचण्ड पनि आएर बसेका थिए। पछि उनीहरूलाई नर्कमा पठाएर ओली आफू स्वर्गमा पुग्न खोजे।”

नेपालले ओलीको पार्टीमा ‘कामरेड’ भन्ने संस्कारलाई ‘बा’ भन्ने संस्कृतिमा परिवर्तन गरेको टिप्पणी गरे। उनले भने, “ओलीले मसँग पनि लाल सलामको प्रचलन अन्त्य गर्न भनेका थिए, तर म रिसाएँ।”

 

प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com