काठमाडौं । नेपाली फिल्म पूर्णबहादुरको सारङ्गी ले सर्वाधिक आम्दानी गर्ने घरेलु फिल्मको नयाँ कीर्तिमान बनाएको छ। १३ औं दिन मंगलबारसम्म यो फिल्मले देशभर २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सार्वजनिक गरेको विवरण अनुसार, मंगलबार मात्र यसले २ करोड ५ लाख रुपैयाँको कमाइ गरेको छ र बुधबार पनि २ करोडभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ।
यस फिल्मले कबड्डी ४ को रेकर्ड तोड्दै सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको उपाधि हात पारेको छ। निर्माताको अनुसार कबड्डी ४ ले २३ करोड ५० लाख कमाइ गरेको थियो भने चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यसको कमाइ २१ करोड ३८ लाख रहेको छ।
टिकट बिक्रीको ट्रेन्डलाई हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’ को लोकप्रियता रोकिन सक्ने कुनै संकेत देखिएको छैन। लगभग ६ दशक लामो नेपाली फिल्म उद्योगको इतिहासमा यस फिल्मको यस्तो कमाइ अभूतपूर्व मानिएको छ।
फिल्मले उच्च कमाइ मात्र होइन सर्वाधिक शो पाउने र एकै दिनमा सर्वाधिक आम्दानी गर्ने रेकर्ड पनि राखेको छ। हाल मुलुकभरका ४५० भन्दा बढी शोहरूमा यो फिल्म प्रदर्शन भइरहेको छ।
प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार
प्रतिक्रिया