काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।

बालेनले सामाजिक सञ्जालमा पोस्ट राख्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् ।

‘काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप,’  उनले लेखेका छन्, ‘संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।’

विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन् । आफूहरुले वैधानिक मापदण्ड अनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएकोसमेत उनले बताएका छन्।

‘तर, सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं,’ उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’

मेयर बालेनले काठमाडौंको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौंबासीको अधिकारको कुरा भएको पनि उल्लेख गरेका छन् ।

 

 

प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com