काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षात्मक अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अनुसार, बैंक अहिले ३.३३ अर्ब रुपैयाँ घाटामा छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको प्रतिशेयर आम्दानी (EPS) ५ रुपैयाँ २३ पैसाले बढेर ११ रुपैयाँ ३५ पैसामा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले वृद्धि भएको छ भने फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशतले वृद्धि भएको छ। इम्पेयरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको हुँदा बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढेको छ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
प्रकाशित मिति: ७ माघ २०८१, सोमबार
प्रतिक्रिया