काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि हालतमा भ्रष्टाचार नगर्ने र थाहा पाएसम्म अरू कसैलाई पनि भ्रष्टाचार गर्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित नेपाल बार एशोसिएसनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचार कहाँ छ, कहाँ छैन भन्ने बहस अलग कुरा हो। तर, अहिलेको सरकार र म स्वयं भ्रष्टाचार गर्दिनँ, अरू कसैले गरे पनि थाहा पाएसम्म गर्न दिन्नँ। यदि भयो भने, त्यसलाई नियन्त्रण गर्छु।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कुनै दिखावटी स्टन्ट नभएको स्पष्ट पारे।
सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारबारे फैलाइएका अफवाहको विषयमा बोल्दै उनले भने, ‘हिजो बिहान सामाजिक सञ्जाल हेर्दा हिन्दी भाषामा मेरो पत्नी राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने हल्ला सुनें। यस्तो निराधार कुरा सुन्दा रिस उठ्नुपर्ने हो, तर अब त रिस पनि उठ्न छोडिसक्यो।’
प्रधानमन्त्री ओलीले कानुन निर्माण र संशोधनका क्रममा कानुन व्यवसायीहरूको सुझावलाई प्राथमिकता दिइने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रकाशित मिति: १६ माघ २०८१, बुधबार
प्रतिक्रिया