काठमाडौं । अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति तथा फ्लोरिडाबाट निर्वाचित रिपब्लिकन सांसद ब्रायन मास्टले नेपालमा ‘नास्तिकता‘ फैलाउन पाँच लाख अमेरिकी डलर खर्च गरिएको खुलासा गरेका छन्।
सीबीएसकी पत्रकार मार्गरेट ब्रेननको चर्चित कार्यक्रम फेस द नेसन मा मास्टले भने, “नेपालमा नास्तिकता फैलाउनका लागि पाँच लाख अमेरिकी डलर खर्च गरिएको छ।”
उनले यो खुलासा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडी (USAID) का गतिविधि रोक्ने निर्णयसम्बन्धी छलफलका क्रममा गरेका हुन्। मास्टले भने अनुसार, अमेरिका सरकारले अन्य देशहरूमा पनि विवादास्पद परियोजनाहरूमा ठूलो रकम खर्च गरेको छ। उदाहरणस्वरूप, कोलम्बियामा ट्रान्सजेन्डर अपरेसनका लागि ५० हजार डलर, पेरूमा LGBTQ सम्बन्धी अभियानमा ४७ हजार डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार डलर खर्च गरिएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी सहायता अनावश्यक रूपमा खर्च भइरहेको भन्दै युएसएआईडी मार्फत प्रदान गरिँदै आएको आर्थिक सहायता पुनरवलोकन गर्न तीन महिना रोक्ने आदेश दिएका थिए। यस निर्णयले विश्वभर हलचल मच्चाएको छ। नेपाल पनि यसको असरबाट अछुतो रहन सकेन।
अमेरिकी संसद्को विदेश मामिला समितिका सभापति मास्टले नेपालमा अमेरिकी सहायता दुरुपयोग भएको उदाहरण प्रस्तुत गरेका छन्। पछिल्ला वर्षहरूमा युएसएआईडीले नेपाललाई वार्षिक रूपमा औसत १२५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दै आएको थियो। तर, ट्रम्पको निर्णयपछि युएसएआईडीको सहायता रोकिँदा नेपालमा यसमार्फत सञ्चालन भइरहेका विभिन्न विकास परियोजना र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) प्रभावित भएका छन्।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
प्रतिक्रिया