काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निकट भविष्यमा गोरखा जाने तयारीमा छन्। धार्मिक आस्थाका साथ उनले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
पूर्वराजाका सम्वाद सचिव डा. फणिराज पाठकका अनुसार शाह यसै हप्ता गोरखा पुग्नेछन्। गोरखनाथ मन्दिर नेपालका शाहवंशीय राजाहरूका लागि ऐतिहासिक रूपमा गहिरो सम्बन्ध राख्ने धार्मिक स्थल हो। इतिहासका पानाहरूले गोरखनाथ बाबाको आशीर्वादकै कारण तत्कालीन शाह राजाहरू युद्धमा विजयी भएको उल्लेख गर्छन्।
विशेष गरी, द्रव्य शाहले गोरखनाथ बाबाको कृपा प्राप्त गरी लिगलिगकोट विजय गरेका थिए भन्ने ऐतिहासिक विवरण पाइन्छ। त्यस्तै, पृथ्वीनारायण शाहलाई गोरखनाथले दही प्रदान गरी ‘तिमीले टेकेको भूमि तिम्रै राज्य हुनेछ’ भनी आशिर्वाद दिएको किम्बदन्ती छ। यही विश्वासले प्रेरित भएर उनले नेपाल एकीकरणको महान अभियान सफल बनाएको बताइन्छ।
पूर्वराजा शाहको यो धार्मिक यात्रा ऐतिहासिक महत्वको ठाउँहरूसँग पुनः जोडिन तथा सांस्कृतिक एवं आध्यात्मिक सम्बन्धलाई बलियो बनाउन केन्द्रित रहेको बुझिन्छ।
प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार
प्रतिक्रिया