काठमाडौं । काठमाडौंबाट रसुवा जान लागेको ट्रकमा करोडौं रुपैयाँ बराबरको विदेशी मुद्रा लुकाइरहेको सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा परिचालित भए।

चैत ४ गते मध्यराति, डीएसपी अनिल घिमिरे नेतृत्वको प्रहरी टोलीले झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लियो। उक्त ट्रक कुसाङ लामा चलाइरहेका थिए, जो सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का स्थानीय हुन्। उनी ‘फुच्चे’ उपनामले परिचित छन्।

फल्स बटनभित्र लुकाइएको २५ करोड बढी विदेशी मुद्रा

प्रहरीले जाँच गर्दा ड्राइभर सिटमुनि फल्स बटन बनाइ लुकाइएको अवस्थामा २५ करोड १ लाख ६० हजार रुपैयाँ बराबरको युरो र डलर फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।

पत्रकार सम्मेलनमा एसएसपी बस्नेतले भने, “युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङतर्फ जाँदै थिए।”

सुराक दिनेले ५ करोड पुरस्कार पाउने

नेपालको विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार, अवैध विदेशी मुद्रा पक्राउ गर्न सुराक दिने व्यक्तिलाई बरामद रकमको २०% पुरस्कारस्वरूप प्रदान गरिन्छ।

ऐनमा उल्लेख छ:
“पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको २० प्रतिशत रकम सुराक दिने व्यक्तिलाई इनाम दिइनेछ।”

यस आधारमा, कुसाङ लामाको ट्रकमा लुकेको २५ करोड बढी विदेशी मुद्रा फेला पार्न सुराक दिने व्यक्तिले करिब ५ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।

पुरस्कार कहिले निकासा हुन्छ?

सुराक दिने व्यक्तिको परिचय गोप्य राख्ने कानुनी व्यवस्था रहेको छ। पुरस्कार रकम मुद्दा टुंगिएपछि मात्र निकासा हुनेछ, जसमा कानुन अनुसार कर लाग्नेछ।

यसैबीच, कुसाङ लामाविरुद्ध राजस्व अनुसन्धान विभागले औपचारिक रूपमा अनुसन्धान सुरु गरिसकेको छ।

 

प्रकाशित मिति: ५ चैत्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com