एजेन्सी – शारीरिक सम्बन्ध राख्नका लागि पत्नीले पैसा मागेको भन्दै एक सफ्टवेयर इन्जिनियरले आफ्नै पत्नीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनले पत्नीले विवाहलाई स्वीकार नगरेको, माइती पक्षसँग मिलेर मानसिक यातना दिएको, आर्थिक शोषण गरेको तथा सम्बन्ध विच्छेदका लागि ठूलो रकम मागेको आरोप लगाएका छन्।
पीडित युवकका अनुसार उनले सन् २०२२ को अगस्ट १४ मा विवाह गरेका थिए। विवाहअघि नै पत्नी र उनकी आमाले पैसा माग्न थालेका थिए भने विवाहपछि पनि आर्थिक शोषण नरोकिएको उनले उजुरीमा उल्लेख गरेका छन्। विवाह खर्चबापत सासुको खातामा ३ लाख रुपैयाँ तथा ५० हजार रुपैयाँ नगद दिएको उनले बताएका छन्। तर, विवाहपछि पनि लगातार पत्नीले पैसा माग्दै शारीरिक सम्बन्धका लागि समेत आर्थिक लेनदेनको सर्त राखेको उनको आरोप छ।
उक्त उजुरीमा उनले पत्नीले दाम्पत्य जीवनलाई सहज रूपमा स्वीकार नगरेको र सम्बन्ध राख्न खोज्दा आत्महत्याको धम्की दिएको उल्लेख गरेका छन्। साथै, पत्नीले उनलाई मारपिट गरी मानसिक र शारीरिक यातना दिएको, माइती पक्षका लागि ६० लाख रुपैयाँ बराबरको घर किन्न दबाब दिएको, मासिक ७५ हजार रुपैयाँ किस्ता तिर्न बाध्य पार्न खोजेको तथा सम्बन्धविच्छेदका लागि ४५ लाख रुपैयाँ क्षतिपूर्ति मागेको उनको दाबी छ।
पीडित युवकका अनुसार पत्नीकै कारण उनले आफ्नो जागिर गुमाउनु परेको छ। ‘वर्क फ्रम होम’का क्रममा अनलाइन मिटिङ भइरहेका बेला पत्नीले नाच्दै बाधा पुर्याउने गरेको आरोप उनले लगाएका छन्। ती घटनाका केही भिडियो प्रमाण उनले प्रहरीलाई बुझाएको बताइएको छ।
प्रहरीले पत्नीसँग बयान लिँदा उनले आफ्ना पति लगाएतका सबै आरोप अस्वीकार गरेकी छन्। बरु उनले आफू नै पति र उनका परिवारबाट मानसिक तथा शारीरिक यातना खेप्न बाध्य भएको बताएकी छन्। उनका अनुसार खाना, लुगा र उचित सुविधा नपाएकाले दाम्पत्य जीवन सहज हुन नसकेको हो। “मलाई राम्रो खान र लाउन नदिइने अवस्थामा बच्चा जन्माउने कुरा कसरी सम्भव हुन्छ?” भन्दै उनले प्रतिप्रश्न गरेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी प्रशासनले दुवै पक्षको बयान लिई कानुनी प्रक्रिया अघि बढाएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार
प्रतिक्रिया